
काठमाडौं । नेपाली कांग्रेसको पाँचवटा भ्रातृ संगठन स्वतः विघटन भएका छन् । केन्द्रीय कार्यसम्पादन समितिले संगठनहरूको केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने निर्णय गरेसँगै संगठनहरू स्वतः विघटन भएका हुन् ।
विघटन हुने संगठनहरूमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ रहेका छन् । तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित संघका अध्यक्ष लोबहादुर विश्वकर्माले यसअघि नै राजीनामा दिइसकेका थिए । उनीहरू तत्कालीन सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।
पार्टीमा विशेष महाधिवेशनमार्फत गगनकुमार थापा नेतृत्वमा आएपछि लामो समयसम्म महाधिवेशन गर्न नसकेका संगठनहरूका अध्यक्षहरू जिम्मेवारीबाट अलग हुँदै गएका थिए । यसअघि पार्टीले २०८१ चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । उक्त समयसीमाभित्र महाधिवेशन गर्न नसके स्वतः पदावधि समाप्त हुने व्यवस्था गरिएको थियो ।
पछि २०८२ असार १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यतालिका पेस गरेका केही संगठनलाई थप समय दिएको थियो । तर, अधिकांश संगठनले तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्न नसकेको र आवश्यक तयारीसमेत नदेखिएकाले अब म्याद थप गर्नु आवश्यक नरहेको निष्कर्ष पार्टीले निकालेको हो ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार म्याद सकिएका समितिहरूले उक्त अवधिमा गरेका सबै निर्णय र मनोनयनहरू स्वतः अवैध ठहरिएका छन् । पार्टी विधानअनुसार अधिवेशन नभएका भ्रातृ संगठनहरूको महाधिवेशन गराउन आवश्यक व्यवस्था गर्न केन्द्रीय कार्यसमितिका सभापतिलाई जिम्मेवारी दिइएको छ ।
यता नेपाल थारु संघले जेठ १६ र १७ गतेका लागि महाधिवेशन मिति तय गरिसकेको छ । सो अवधिसम्मका लागि मात्र समयावधि थप गरिएको कांग्रेसले जनाएको छ ।



















