
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले सुकुम्वासी व्यवस्थापनका नाममा ‘डोजर आतंक’ मच्चाएको आरोप लगाएका छन् ।
पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राज्यको हालको कार्यशैली मानवीय मूल्य र संवैधानिक मान्यताविपरीत रहेको टिप्पणी गरे । आङ्देम्बेका अनुसार सुकुम्वासी बस्ती हटाउने नाममा वास्तविक सुकुम्वासीको लगतसमेत नलिई हचुवाका भरमा डोजर चलाइँदा समस्या बढेको छ ।
उनले होल्डिङ सेन्टरमा राखिएका सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था अत्यन्तै दयनीय बनेको बताए । केही व्यक्तिको मृत्यु समेत भइसकेको उनले उल्लेख गरे ।
उनले राज्यले आफ्ना कदम नसच्याए जनस्तरबाट प्रतिवाद र प्रतिकार हुने चेतावनीसमेत दिएका छन् । आङ्देम्बेले नदी किनार व्यवस्थित गर्ने र सहरी क्षेत्र सफा राख्ने कार्यमा आफूहरूको सकारात्मक सहयोग रहने स्पष्ट पारे पनि सुकुम्वासी उठाउने नाममा गरिएको बल प्रयोग अस्वीकार्य रहेको बताए ।
उनले भने, ‘सुकुम्वासी व्यवस्थापनको नाममा जसरी राज्यले आतंक मच्चाइरहेको छ । यसले कानुनी प्रक्रिया र मानवीय संवेदनशीलता दुवैलाई उल्लंघन गरेको छ ।”

























