कोशी प्रदेश : ‘ओभरलोड’मा ट्राफिकको ‘ब्रेक’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १६:५७

विराटनगर । सडक सुरक्षालाई प्रत्यक्ष चुनौती दिइरहेको ‘ओभरलोड’ (क्षमताभन्दा बढी सामान लोड गरिएको) समस्या नियन्त्रण गर्न ट्राफिक प्रहरीले कोशी प्रदेशमा कडाइका साथ विशेष अभियान सञ्चालन गरेको छ ।

क्षमता भन्दा बढी मालसामान बोकेर चल्ने मालवाहक सवारीसाधनका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै सडक पूर्वाधारमा गम्भीर क्षति पुग्ने निष्कर्षसहित प्रदेशभर निगरानी र कारबाही तीव्र पारिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार प्रदेशका १४ वटै जिल्लामा चेकजाँचलाई कडा बनाइएको छ ।

Advertisement

‘ओभरलोड’ अवस्थामा भेटिएका सवारीसाधनलाई गन्तव्यतर्फ जान नदिई तत्काल नियन्त्रणमा लिने, जरिबाना गर्ने र आवश्यक देखिएमा विशेष कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने काम भइरहेको छ । नियम उल्लंघन गर्ने चालकलाई कानुनी दायरामा ल्याउने विशेष अभियान अल्पकालीन नभई दीर्घकालीन रूपमा निरन्तर सञ्चालन गरिने कोशी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता, डीएसपी सन्तोष श्रेष्ठले बताए ।

उनका अनुसार वैशाख महिनाको हालसम्ममा कोशी प्रदेशमा १ सय १८ वटा मालवाहक सवारीसाधन ‘ओभरलोड’ कारबाहीमा परेका छन् । तीमध्ये १ सय १ वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले नै कारबाही स्वरुप जरिबाना गर्दा २ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको श्रेष्ठको भनाइ छ ।

ट्राफिकले बाँकी १७ वटा सवारीसाधनलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको थियो । यातायातले जरिबाना गर्दा ७८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

जिल्लागत तथ्यांक हेर्दा वैशाख महिनाको हालसम्म सबैभन्दा बढी कारबाही सुनसरीमा भएको छ । सुनसरीमा ४५ वटा सवारीसाधन ‘ओभरलोड’ कारबाहीमा परेको जानकारी डीएसपी श्रेष्ठले दिए । उनका अनुसार मोरङमा ३६, झापामा १५, ओखलढुंगामा ४ र उदयपुरमा १ वटा मालवाहक सवारीसाधनमाथि कारबाही गरिएको छ । यस्तै, यातायात व्यवस्था कार्यालयमार्फत झापामा १०, सुनसरीमा ४ र मोरङमा ३ वटा सवारीसाधनमाथि कारबाही भएको छ ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सडक पूर्वाधारको संरक्षण र कानुनी शासन कायम गर्न ‘ओभरलोड’ कारबाहीलाई तीव्र पारिएको छ । ‘अत्यधिक भार बोकेका सवारीसाधनमा ‘ब्रेक फेल’ हुने, टायर पड्किने, सन्तुलन बिग्रने र घुम्तीमा गाडी नियन्त्रणबाहिर गएर दुर्घटनाको जोखिम उच्च हुन्छ,’ उनले भने, ‘चालक, यात्रु र अन्य सडक प्रयोगकर्ताको ज्यान नै जोखिममा पर्ने भएका कारण ‘ओभरलोड’लाई तत्काल ‘ब्रेक’ लगाउनुपर्ने अवस्था आएको हो ।’

गिरीले सडक पूर्वाधार कमजोर रहेको नेपाली सन्दर्भमा ‘ओभरलोड’ झन् खतरनाक हुने उल्लेख गरे । ‘हाम्रा धेरैजसो सडकहरू अझै पनि उच्च भार सहन सक्ने अवस्थामा छैनन् । त्यस्तो अवस्थामा क्षमता भन्दा बढी तौल बोकेको गाडीले सडक चाँडै बिगार्छ, खाल्डाखुल्डी बढाउँछ र दीर्घकालीन रूपमा राज्यलाई ठूलो आर्थिक भार पार्छ,’ उनले भने ।

गिरीका अनुसार ‘ओभरलोड’ले दुर्घटना निम्त्याउनुका साथै सडकको आयु समेत घटाउँछ । ‘सवारीसाधनको डिजाइन निश्चित भारसम्म मात्र सुरक्षित रहने गरी बनाइएको हुन्छ । त्यो सीमा नाघ्दा गाडीका महत्वपूर्ण भागहरूमा दबाब बढेर अचानक यान्त्रिक समस्या निम्त्याउन सक्छ । ‘ओभरलोड’ सडक सुरक्षाको प्रमुख जोखिमका रूपमा देखा परेको छ,’ उनी भन्छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले प्रत्येक सवारीसाधनका लागि निश्चित भार सीमा तोकेको छ । उक्त सीमा नाघ्नु कानुन उल्लंघन गर्नु हो । त्यही भएकाले कानुनी आधारमा ट्राफिक प्रहरीले कारबाही अगाडि बढाइरहेको छ ।

सामान्य ‘ओभरलोड’को अवस्थामा ट्राफिक प्रहरीले २ हजार रुपैयाँसम्म जरिबाना गर्न सक्छ भने अत्यधिक ‘ओभरलोड’ भेटिएमा सवारीसाधनलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइन्छ । यातायातले ५ हजार रुपैयाँसम्म जरिबाना गर्न सक्छ ।

अभियानलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले राजमार्ग, मुख्य र सहायक सडकहरूमा नियमित चेकजाँच, आकस्मिक अनुगमन र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको एसपी गिरीको भनाइ छ । भविष्यमा प्रविधिको प्रयोगमार्फत ओभरलोड पहिचान गर्ने प्रणाली विकास गर्ने विषयमा समेत छलफल भइरहेको जनाइएको छ ।

‘ओभरलोडविरुद्धको कडाइ तत्कालका लागि मात्र नभएर दीर्घकालीन सडक सुरक्षाको आधार निर्माण गर्ने प्रयास हो । हामीले आज कडाइ नगरे भोलि दुर्घटनाको संख्या अझ बढ्छ । सडक चाँडै बिग्रन्छ । त्यसको असर सम्पूर्ण जनताले भोग्नुपर्छ,’ एसपी गिरी भन्छन् । उनले सबै सरोकारवाला पक्षलाई नियम पालना गर्न, सुरक्षित सवारी चलाउन र सडकलाई दीर्घकालसम्म उपयोगी बनाइराख्नका लागि सहयोग गर्न आह्वान गरेका छन् ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले ‘ओभरलोड’ मालवाहक सवारीसाधनलाई कडाइका साथ कारबाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । क्षमताभन्दा बढी भार बोक्दा निम्तने जोखिम नियन्त्रण गर्नलाई प्राथमिकताका साथ काम गर्न उनको निर्देशन छ ।

‘ओभरलोड’माथि कारबाहीका साथै निरन्तर निगरानी, कडाइ र जनचेतना अभिवृद्धिलाई समेत प्राथमिकतामा राखेर काम गर्न घिमिरेले निर्देशन दिएका छन् । चालक, व्यवसायी र सर्वसाधारण सबैले नियम पालना नगरेसम्म समस्या दोहोरिरहने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.