कांग्रेसमा एकता प्रयास

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १५:०८

काठमाडौं । नेपाली कांग्रेसमा एकताको प्रयास सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने सहमति बनेको छ । गोल्फुटारस्थित खड्का निवासमा बुधबार बिहान भएको छलफलमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी थिए ।

Advertisement

करिब डेढ घण्टा चलेको वार्तामा पार्टीभित्र बढ्दो गुटबन्दी अन्त्य गर्ने र साझा ढंगले संगठन सञ्चालन गर्ने विषयमा कुराकानी भएको जनाइएको छ । थापा र खड्काबीच विशेष महाधिवेशनपछि भएको यो दोस्रो भेट हो ।

यसअघि भएको संवादमा खड्काले पार्टीभित्र आधा शक्ति नेतृत्वसँग र आधा बाहिरजस्तो देखिएको भन्दै विभाजनको अवस्था अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । खड्काले पार्टीलाई पूर्ण रूपमा एकताबद्ध बनाउन आफू तयार रहेको स्पष्ट पार्दै नेतृत्वले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । ‘पार्टी एकता टुक्रा–टुक्रामा होइन । समग्र रूपमा हुनुपर्छ,’ उनले जोड दिएका छन् ।

यसैबीच सभापति थापाले कांग्रेसका नेता डा. शेखर कोइरालासँग पनि छुट्टै भेटवार्ता गरेका छन् । पछिल्ला भेटघाटलाई पार्टीभित्रको ध्रुवीकरण कम गर्दै साझा धारणा बनाउने प्रयासका रूपमा हेरिएको छ ।

पार्टीको गतिविधि र नेताहरुको सक्रियताले कांग्रेस नेतृत्व एकता कायम गर्ने दिशामा सक्रिय भएको संकेत दिन्छ । तर, स्पष्ट कार्ययोजना र सहमतिको आधार निर्माण अझै चुनौतीपूर्ण देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.