नेप्सेमा झिनो गिरावटमा, अधिकांश कम्पनीमा मूल्य दबाब

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १५:३४

काठमाडौं । सेयर बजार बुधबार सामान्य उतारचढावबीच बन्द भएको छ । दिनभरको कारोबारमा १०४ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

समग्र बजार सूचक नेप्से १.६४ अंकले घटेर २७११ अंकमा झरेको छ । अघिल्लो कारोबार दिन नेप्से ८ अंकले बढेको थियो । तर, बुधबार बजारमा खरिद–बिक्रीको दबाब मिश्रित देखिँदा सूचकमा सामान्य गिरावट आएको हो । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ ।

Advertisement

समूहगत सूचकहरूमा पनि मिश्रित अवस्था देखिएको छ । बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहहरूमा सामान्य वृद्धि भए पनि विकास बैंक, हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार समूहहरूमा गिरावट आएको छ । तर, सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ ।

बजारमा व्यक्तिगत कम्पनीहरूको प्रदर्शन भने निकै फरक देखिएको छ । फर्वाड माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १३.७४ प्रतिशतले बढेको छ । त्यसैगरी अपर लोहोरेखोला हाइड्रोपावर ५.९५ प्रतिशत र तारागाउँ रिजेन्सी ३.३८ प्रतिशतले वृद्धि भएका छन् ।

अर्कोतर्फ भगवती हाइड्रोपावरको मूल्य ८.९० प्रतिशतले घट्दै सबैभन्दा ठूलो गिरावट देखिएको छ । नारायणी डेभलपमेण्ट ७.२७ प्रतिशत र मोदी इनर्जी ४.१८ प्रतिशतले घटेका छन् ।

कारोबार परिमाणका आधारमा भने सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, ङादी ग्रुप र अपर लोहोरेखोला हाइड्रोपावर जस्ता कम्पनीहरू अगाडि रहेका छन् । बजारमा ठूलो उतारचढाव नभए पनि लगानीकर्ताबीच छनोटमूलक कारोबार र क्षेत्रगत दबाब स्पष्ट देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.