
एजेन्सी । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यतर्फ उन्मुख भएको दाबी गरिएको छ । दुई देशबीचको युद्ध अन्त्य नजिक पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन् ।
उनले आगामी ४८ घण्टाभित्रै युद्ध समाप्त हुन सक्ने संकेत गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रमका क्रममा उनले पछिल्ला २४ घण्टामा इरानसँग ‘अत्यन्त राम्रो’ वार्ता भएको र त्यसले ऐतिहासिक सम्झौताको ढोका खोलिरहेको बताएका छन् ।
अमेरिकी सञ्चारमाध्यमहरू एक्सियोस र रोयटर्सका अनुसार दुवै देशबीच १४ बुँदे समझदारी पत्रको मस्यौदा तयार भइसकेको छ । उक्त मस्यौदाले तत्काल युद्धविरामलाई पहिलो प्राथमिकता दिएको छ । त्यसले दीर्घकालीन रूपमा इरानको आणविक कार्यक्रम, प्रतिबन्ध नीति र होर्मुज जलमार्गमा देखिएको तनाव समाधान गर्ने लक्ष्य राखिएको छ ।
प्रस्तावित समझदारी अनुसार युद्ध अन्त्य भएपछि ३० दिनभित्र दुवै पक्ष तटस्थ स्थानमा विस्तृत वार्तामा बस्नेछन् । यसका लागि इस्लामाबाद वा जेनेभाजस्ता सहरलाई सम्भावित स्थानका रूपमा छलफल गरिएको छ । त्यसपछि इरानको आणविक कार्यक्रम अस्थायी रूपमा रोक्ने विषयमा सहमति गरिने उल्लेख छ । बदलामा अमेरिकाले रोकिएको इरानी सम्पत्ति फुकुवा गर्ने र आर्थिक प्रतिबन्धहरू क्रमशः खुकुलो पार्ने प्रतिबद्धता जनाउने भनिएको छ ।
तर, आणविक कार्यक्रम रोक्ने अवधिको समयसीमामा दुवै पक्षबीच गम्भीर मतभेद देखिएको छ । इरानले पाँच वर्षको सीमा उपयुक्त हुने अडान लिएको छ भने अमेरिकाले कम्तीमा २० वर्षको ग्यारेन्टी माग गरेको छ । पछिल्लो छलफलमा १२ देखि १५ वर्षबीचको मध्यमार्गी विकल्पमा ध्यान केन्द्रित भएको स्रोतहरूले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले वार्ताका बारेमा बोल्दै इरानसँग आणविक हतियार हुन नसक्ने दोहोर्याएका छन् । उनले कडा शब्दमा भनेका छन्, ‘यो धेरै सरल विषय हो । इरानसँग आणविक हतियार हुनु हुँदैन । हामी सबैलाई जीवित राख्न चाहन्छौं ।’
कूटनीतिक वार्ता चलिरहँदा सैन्य तयारी पनि रोकिएको छैन । अमेरिकाले ‘प्रोजेक्ट फ्रीडम’ अन्तर्गत आफ्नो शक्तिशाली युद्धपोत यूएसएस जर्ज एच.डब्ल्यू बुशलाई होर्मुज जलमार्गमा तैनाथ गरेको छ । ट्रम्पले अमेरिकी नौसेनालाई ‘स्टिलको पर्खाल’ भन्दै यसको उपस्थितिले इरानी सैन्य गतिविधि रोक्ने दाबी गरेका छन् ।
तर, इरानको प्रतिक्रिया भने अझै आशंकात्मक देखिएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बगाईले सम्झौता नजिक पुगेको दाबीलाई अतिरञ्जित भनेका छन् । त्यस्तै, इरानी सांसद इब्राहिम रेजाईले अमेरिकी प्रस्तावलाई ‘वास्तविकता होइन, अमेरिकी इच्छा सूची’ भनेर आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यदि आवश्यक छुट नदिइए इरान ‘आवश्यक कदमका लागि तयार’ रहने चेतावनी दिएका छन् ।
ट्रम्पले वार्ता असफल भएमा सैन्य कारबाही अझै कडा हुने संकेत पनि दिएका छन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘यदि सम्झौता भएन भने हामीले उनीहरूमाथि पहिलेभन्दा धेरै तीव्र र व्यापक बमबारी गर्नुपर्ने हुन सक्छ ।’
यसैबीच, चीनको भूमिका पनि यस संकटमा थप जटिल बन्दै गएको छ । चिनियाँ सरकारले विदेशी प्रतिबन्धलाई पालन गर्ने कम्पनीहरूलाई कारबाही गर्ने नयाँ कानुन ल्याएपछि अमेरिका र चीनबीच आर्थिक तनाव झन् बढ्ने संकेत देखिएको छ ।
अमेरिकी प्रशासनले तेल बजार स्थिर राख्ने प्रयासस्वरूप सेभरन र एक्सोनमोबिलजस्ता ठूला ऊर्जा कम्पनीका अधिकारीहरूसँग समेत छलफल सुरु गरेको बताइएको छ । मध्यस्थताको प्रयासमा पाकिस्तान सक्रिय देखिएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा इरानको औपचारिक प्रतिक्रियाको प्रतीक्षा भइरहेको छ । यदि सकारात्मक जवाफ आएमा यो दशककै ठूलो कूटनीतिक सफलता मानिनेछ । तर, वार्ता असफल भएमा मध्यपूर्व पुनः ठूलो युद्धमा धकेलिन सक्ने चिन्ता बढेको छ ।
यता इरान–अमेरिका वार्ता पुनः सुरु हुने खबरसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । लगानीकर्ता र बजार विश्लेषकहरू अहिले पनि आगामी निर्णयप्रति सतर्क छन् ।
एकातिर कूटनीतिक आशा देखिए पनि अर्कोतर्फ सैन्य तयारी, कडा बयानबाजी र अविश्वासले स्थिति अझै अनिश्चित बनाएको छ । विश्वको ध्यान अब इरानको अन्तिम निर्णयतर्फ केन्द्रित भएको छ । जसले मध्यपूर्वको आगामी दिशा निर्धारण गर्नेछ ।



















