
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा राजनीतिक दलहरूले गरेको खर्च विवरण सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ सबैभन्दा बढी खर्च गर्ने दल बनेको छ ।
आयोगमा बुझाइएको विवरणअनुसार रवि लामिछाने नेतृत्वको रास्वपाले समानुपातिक निर्वाचनमा २ करोड ११ लाख ६४ हजार ९ सय १९ रुपैयाँ खर्च गरेको जनाएको छ । खर्चको हिसाबमा रास्वपा पहिलो स्थानमा रहेको देखिएको हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ करोड ९६ लाख ३१ हजार ३ सय ६ रुपैयाँ ७० पैसा खर्च गरेको विवरण बुझाएको छ । त्यस्तै, नेकपा (एमाले)ले करिब ७५ लाख रुपैयाँ खर्च गरेको देखिएको छ ।
निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएपछि कानुनअनुसार सबै राजनीतिक दललाई खर्च विवरण बुझाउन निर्देशन दिएको थियो । अधिकांश दलले तोकिएको समयभित्र खर्च विवरण पेस गरे पनि दुई राजनीतिक दलले भने अझै खर्च विवरण नबुझाएको आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रचारप्रसार, सभा, कार्यक्रम, प्रचार सामग्री, सवारीसाधन, कार्यालय सञ्चालन तथा जनशक्ति व्यवस्थापनमा दलहरूले ठूलो रकम खर्च गरेको देखिएको छ । नयाँ दलका रूपमा उदाएको रास्वपाले सबैभन्दा बढी खर्च गरेको विवरण सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
निर्वाचन आयोगले प्राप्त भएको खर्च विवरणको अध्ययन तथा परीक्षण प्रक्रिया जारी रहेको जनाएको छ ।
यस्तो छ दलहरुले गरेको खर्चको सूची





















