
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्ने कुनै सूची सरकारसँग नभएको स्पष्ट पारेका छन् ।
काठमाडौंमा शुक्रबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै उनले व्यवसायीविरुद्ध थुन्ने वा धरपकड गर्ने हल्लामा विश्वास नगर्न आग्रह गरे । ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने कुनै सूची छैन । हल्लाको पछि नलाग्नुस् । तपाईंहरू हाम्रो साझेदार हो,’ उनले भने ।
अर्थमन्त्री वाग्लेले सरकारको १०० अर्ब डलर अर्थतन्त्र बनाउने लक्ष्यमा निजी क्षेत्रलाई मुख्य साझेदारका रूपमा लिइएको बताए । उनले सरकारका पाँच प्राथमिकतामा सुशासन, अर्थतन्त्र पुनरुत्थान, आन्तरिक तथा बाह्य कनेक्टिभिटी, सामाजिक लगानी र पर्यटन संस्कृति तथा इतिहासमार्फत सौम्य शक्ति विस्तार रहेको जानकारी दिए ।
उनले अर्थतन्त्रलाई सही दिशामा मोड्ने चरणमा मुलुक रहेको भन्दै आगामी बजेटसम्म धैर्य गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । साथै, भारतले पछिल्ला वर्षमा गरेको आर्थिक प्रगतिको उदाहरण दिँदै नेपाल पनि सोही बाटोमा अघि बढ्नुपर्ने बताए ।



















