होटलमा छापा : खैरो हेरोइनसहित तीन जना युवा पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार ११:०५

सुनसरी । धरानमा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबार भइरहेको सूचनापछि प्रहरीले छापा हानेर तीन जना युवालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले शुक्रबार राति धरान–९ बगैँचा लाइनस्थित रत्न इन होटलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्चीनगर–४ बांसखर्कका २० वर्षीय सन्देश तामाङ, काभ्रेपलाञ्चोकका २२ वर्षीय समीर दियाली र झापा बिर्तामोडका २८ वर्षीय क्षितिज भण्डारी रहेका छन् ।

Advertisement

उनीहरू काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । छापाका क्रममा होटलको कोठा नम्बर ७ बाट ३६ ग्राम ९१० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ ।

साथै, लागुऔषध कारोबारमा प्रयोग भएको आशंकामा दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । ती मोटरसाइकलहरू बागमती प्रदेश ०२–०२७ प ३२८१ र बागमती प्रदेश ०२–०४३ प ४८८२ नम्बरका रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ । धरानमा पछिल्ला दिनमा लागुऔषध कारोबार बढ्दै गइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.