
रंगेली । नेपाल सरकारले देशभरका सरकारी अस्पतालमार्फत निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप दुई महिनादेखि नपठाउँदा मोरङको रंगेली अस्पतालमा सेवाग्राही मारमा परेका छन् ।
खोप अभावका कारण गरिब, मजदुर तथा विपन्न परिवारका नागरिकहरू निजी स्वास्थ्य संस्था र क्लिनिकबाट महँगो मूल्यमा भ्याक्सिन खरिद गरेर लगाउन बाध्य भएका हुन् । कुकुर तथा अन्य जनावरले टोकेपछि रेबिज संक्रमणबाट जोगिन लगाइने खोप रंगेली अस्पतालमा यसअघि नियमित रूपमा उपलब्ध हुँदै आएको थियो ।
तर, पछिल्लो दुई महिनादेखि खोप आपूर्ति बन्द भएपछि दैनिक अस्पताल आउने बिरामीहरू निराश भएर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ । रंगेली अस्पतालमा रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका तथा कानेपोखरी गाउँपालिकासहित आसपासका क्षेत्रबाट दैनिक १० देखि १५ जनासम्म रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् ।
अस्पतालमै खोप नपाइएपछि उनीहरू निजी मेडिकल र क्लिनिक धाउन बाध्य भएका छन् । रंगेली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वसन्तकुमार साहका अनुसार सरकारले प्रत्येक महिना अस्पताललाई करिब २ सय ५० भायल रेबिजविरुद्धको भ्याक्सिन उपलब्ध गराउँदै आएको थियो । तर, पछिल्लो दुई महिनादेखि खोप नआउँदा बिरामीलाई सेवा दिन नसकिएको उनले बताए ।
उनका अनुसार सरकारी अस्पतालबाट खोप उपलब्ध हुँदा सेवाग्राहीले तीन डोजको लागि न्यूनतम शुल्क तिरेर सेवा लिँदै आएका थिए । अहिले भने निजी बजारमा एउटा डोजकै लागि ६ सयदेखि ७ सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । सबै डोज पूरा गर्दा एक जनाले करिब २ हजार १ सय रुपैयाँसम्म खर्च गर्नु परिरहेको छ ।
रंगेली चोप्राहाका सञ्जय मण्डलले सरकारी अस्पतालमा सहजै पाइने खोप अहिले बजारमा महँगो मूल्यमा खरिद गर्नुपर्दा आर्थिक भार बढेको गुनासो गरे । ‘पहिला सरकारी अस्पतालमै सस्तोमा खोप पाइन्थ्यो । अहिले निजी मेडिकलबाट किन्नुपर्दा निकै समस्या भएको छ,’ उनले भने ।
नेपाल सरकारले गत चैत १६ गते सूचना जारी गर्दै स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाबाट खरिद गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत वितरण हुँदै आएको एआरभी भ्याक्सिन खरिद प्रक्रियामै रहेको जनाएको थियो । सहज आपूर्तिमा समय लाग्ने भएकाले तत्कालका लागि प्रदेश तथा स्थानीय तहलाई आवश्यक भ्याक्सिन आफैं व्यवस्थापन गर्न अनुरोध गरिएको थियो ।
तर, स्थानीय तह वा सम्बन्धित निकायबाट स्पष्ट निर्णय नआउँदा अस्पताल प्रशासन अन्योलमा परेको छ । रंगेली नगरपालिकाका अनुसार सबै पालिकाको लागि एक वर्षको रेबिज खोप खरिद गर्न करिब ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । ठूलो बजेट आवश्यक पर्ने भएपछि अस्पताल प्रशासन मात्रै अघि बढ्न नसकेको बताइएको छ ।
अस्पताल व्यवस्थापन समितिका सदस्य अजिम आलमले रेविजजस्तो संवेदनशील विषयमा सबै स्थानीय तह मिलेर समाधान खोज्नुपर्ने बताए । उनले सरकारले तत्काल खोप उपलब्ध नगराए रंगेली नगरपालिकाभित्रका सर्वसाधारणलाई राहत दिन नगरस्तरबाटै खोप खरिद गर्ने विषयमा छलफल गरिने जानकारी दिए ।
रेबिज संक्रमणलाई विश्वकै सबैभन्दा घातक रोगमध्ये एक मानिन्छ। समयमै खोप नलगाए ज्यानै जान सक्ने जोखिम रहने भएकाले सरकारी अस्पतालमा खोप अभाव हुँदा सर्वसाधारण त्रसित बनेका छन् ।
ग्रामीण भेगका नागरिकहरू आर्थिक अभावका कारण निजी मेडिकलबाट महँगो मूल्यमा खोप किन्न नसक्ने अवस्था रहेको बताउँछन् । सरकारले तत्काल खोप आपूर्ति सहज बनाउनुपर्ने माग उनीहरुको छ ।



















