
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलले आयोजना गरेको सांसद प्रशिक्षण कार्यक्रममा सबै सांसदको उपस्थिति नदेखिएपछि नेतृत्वले असन्तुष्टि जनाएको छ ।
प्रशिक्षणमा अधिकांश सांसद अनुपस्थित रहेका हुन् । संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशिक्षण कार्यक्रमलाई बेवास्ता गरिएको संकेत गर्दै यसको मूल्यांकन पार्टीले गर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै पराजुलीले जनताले अब कामको आधारमा राजनीतिक दल र प्रतिनिधिको मूल्यांकन गर्न थालेको उल्लेख गरे । उनले सांसदहरूलाई जिम्मेवार, सक्षम र जनमुखी बन्न आग्रह गर्दै पार्टीको वाचापत्र, सरकारका सय प्राथमिकता र जनतासँग गरिएका प्रतिबद्धताहरू कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।
उनका अनुसार प्रशिक्षण औपचारिक कार्यक्रम मात्रै नभएर आत्ममूल्यांकन, अनुभव आदानप्रदान र राजनीतिक संस्कार विकास गर्ने अवसर हो । तर, निर्धारित समयमै सूचना दिइए पनि सबै सांसद उपस्थित नभएको देखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
पराजुलीले अन्य कामलाई प्राथमिकता दिई संसदीय भूमिकालाई बेवास्ता गर्नु उचित नहुने टिप्पणी गरे । उनले यस्ता गतिविधिको मूल्यांकन पार्टीभित्र हुने पनि स्पष्ट पारे ।
रास्वपाले आयोजना गरेको प्रशिक्षणलाई नेतृत्वले आगामी दिनमा संसदीय कार्यक्षमता सुधारको सुरुवातका रूपमा लिएको जनाएको छ । शनिबारबाट सुरु भएको प्रशिक्षण आइतबारसम्म चल्ने छ ।



















