सहकारी नियमन प्राधिकरणमा अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार १४:२८

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

सहकारी ऐन, २०७४ तथा अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड २०८३ अनुसार योग्य नेपाली नागरिकबाट आवेदन माग गरिएको हो । अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

Advertisement

साथै, नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा काम गरेको वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव आवश्यक तोकिएको छ । विज्ञ सदस्य पदका लागि पनि सोही विषयमा स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिएको छ ।

तर बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव हुनुपर्नेछ । दुवै पदका लागि उम्मेदवारको उमेर ६० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।

दरखास्त दिने व्यक्तिले वित्तीय सहकारी क्षेत्रका समस्या, चुनौती र अवसरसमेत समेटिएको कार्ययोजना पेस गर्नुपर्नेछ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त बुझाउन सकिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.