
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक सांगठनिक कामबारे छलफल गर्न बैठक बोलाएका हुन्।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा साँझ ६ बजे बस्ने बैठकमा पार्टीको आगामी भेला र अधिवेशनको विशेष तालिकाबारे छलफल हुने रास्वपाले जनाएको छ। त्यस्तै, विभिन्न आयोग तथा विभागहरूमा पदाधिकारी मनोनयन, केही जिल्ला समितिहरूको विघटन र अनुशासनात्मक कारबाहीका विषय पनि बैठकका मुख्य एजेन्डा रहेका छन्।
बैठकले केन्द्रीय समितिको आगामी बैठकको मिति तय गर्नुका साथै पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि आवश्यक रणनीति बनाउने बताइएको छ। नयाँ राजनीतिक घटनाक्रम र पार्टीको भूमिकाबारे समेत सचिवालयमा समीक्षा हुनेछ।

























