व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार ११:०२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार भएकाले त्रसित हुनुपर्ने अवस्था नरहेको बताए।

अर्थमन्त्री वाग्लेले व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले नबनाएको स्पष्ट पारे। उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने, धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन र होइन। तपाईँहरू हल्लाको पछि नपर्नुस्, तपाईँहरू हाम्रो साझेदार हो।’ उनले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा निजी क्षेत्रको साथ अनिवार्य रहेको समेत उल्लेख गरे।

Advertisement

उनले सरकारका पाँच मुख्य प्राथमिकताहरूबारे पनि जानकारी दिए। जसअनुसार सुशासन पहिलो प्राथमिकतामा छ भने अर्थतन्त्रको पुनरुत्थान दोस्रो, आन्तरिक र बाह्य कनेक्टिभिटी तेस्रो, सामाजिक लगानी चौथो र पर्यटन तथा संस्कृति मार्फत सौम्य शक्ति विस्तार पाँचौँ प्राथमिकतामा रहेका छन्।

मुलुक अहिले अर्थतन्त्रको दिशा बदल्ने अवस्थामा रहेको भन्दै उनले यसको स्पष्ट चित्र आगामी बजेटमा देखिने बताए। छिमेकी मुलुक भारतको उदाहरण दिँदै उनले सन् २०१४ मा नरेन्द्र मोदीले सत्ता सम्हाल्दाको भारतीय अर्थतन्त्र र अहिलेको नेपालको सूचक केही समान रहेको दाबी गरे। राजनीतिक स्थायित्व र इमानदारीपूर्वक काम गरेमा नेपालले पनि छोटो समयमै आर्थिक फड्को मार्न सक्ने उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.