
काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। सहकारी ऐन २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड २०८३ अनुसार सरकारले आवेदन मागेको हो।
अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको वा राष्ट्रिय/अन्तर्राष्ट्रिय बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्य अनुभव भएको योग्यता तोकिएको छ।
यसैगरी विज्ञ सदस्यका लागि सोही विषयहरूमा स्नातकोत्तर गरी बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। अध्यक्ष र विज्ञ सदस्य दुवै पदका लागि ६० वर्ष उमेर नाघेका व्यक्तिहरूले आवेदन दिन पाउने छैनन्।
इच्छुक र योग्य उम्मेदवारले सूचना जारी भएको मितिले १५ दिनभित्र तोकिएको स्थानमा दरखास्त दिनुपर्नेछ। प्राधिकरणले सहकारी क्षेत्रको नियमन र सुशासनका लागि यी महत्वपूर्ण पदहरूमा पदपूर्तिको प्रक्रिया अघि बढाएको हो।

























