
काठमाडौं। ई-बिडिङ प्रणाली ह्याक गरी ठेक्का हत्याएको प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले संगठित अपराध र क्रिप्टो कारोबार समेतको कसुरमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएका प्रतिवादीहरूमा सहरी तथा भवन निर्माण आयोजना धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा, कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे, थुम्का निर्माण सेवाका सञ्चालक सञ्जय भट्टसहित विभिन्न निर्माण व्यवसायी र कर्मचारीहरू छन् । सीआईबीले हालसम्म १३ जनालाई पक्राउ गरेको छ भने बाँकीलाई फरार प्रतिवादी कायम गरिएको छ ।
अनुसन्धानका क्रममा कम्प्युटर अपरेटर दिवाकर देउजाले सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काको विवरण हेरफेर गर्ने गरेको खुलेको छ । उनले बोलपत्रको समय सकिएपछि प्राविधिक माध्यमबाट प्रणालीको ‘ब्याकडोर’ प्रयोग गरी ठेकेदारहरूको आर्थिक प्रस्ताव संशोधन गरेर सबैभन्दा कम मूल्य राख्ने र ठेक्का दिलाउने गरेको पाइएको छ । यसबापत उनले ठेकेदारहरूसँग मोटो रकम बार्गेनिङ गर्ने गरेका थिए ।
प्रहरीका अनुसार देउजाले ‘जीवन लिम्बु’ नामक नक्कली पात्र खडा गरी ह्वाट्स एप र इमेलमार्फत ठेकेदारहरूसँग सम्पर्क गर्ने गरेका थिए । यस प्रकरणमा अर्का प्रतिवादी कम्प्युटर इन्जिनियर भाष्करराज अर्यालले अवैध रुपमा बिटक्वाइनमार्फत भुक्तानीको व्यवस्था मिलाउने गरेको देखिएको छ ।
मुख्य योजनाकार भनिएका देउजा यसअघि २०७७ सालमा नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा समेत पक्राउ परेका व्यक्ति हुन् । ठेक्काको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्ट परिवर्तन हुने गरेको उजुरी परेपछि सीआईबीले यस संगठित अपराधको अनुसन्धान सुरु गरेको थियो ।



















