
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्टहरूको प्रभाव अझै पनि जनतामा उल्लेख्य रहेको बताएका छन् । २६ औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले श्रमजीवी वर्ग र कम्युनिस्ट एकतालाई केन्द्रित गरेर नयाँ यात्रा सुरु गर्नुपर्नेमा जोड दिए ।
हिजोका उपलब्धि सुनाएर मात्र आजको आवश्यकता पूरा नहुने बताउँदै प्रचण्डले वैचारिक, राजनीतिक र सांगठनिक रूपमा नयाँ ढंगले अघि बढ्नुपर्ने बताए । कम्युनिस्ट आन्दोलनको ठूलो शक्तिलाई केन्द्रित गर्ने प्रयासलाई जनताले विगतमा उत्साहका साथ अनुमोदन गरेको र निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत नजिक पुर्याएको उनले स्मरण गरे ।
जनता कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा रहे पनि नेतृत्वको कमजोरीका कारण विगतका प्रयास दिगो र सफल हुन नसकेको उनको भनाइ थियो । ‘एकता र विभाजनका धेरै शृङ्खला पार गर्दै हामी यहाँसम्म आइपुगेका छौं, तर अहिले सच्चा कम्युनिस्टहरूबीचको एकताको आवश्यकता झनै बढेको छ,’ प्रचण्डले भने ।
देशमा वैदेशिक हस्तक्षेप बढेको र कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्ने खेल भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । जानेर वा नजानेर श्रमजीवी वर्गप्रति घात भएको स्वीकार गर्दै उनले पहिला आफ्नै समीक्षा गरेर कमजोरी सच्याउन जरुरी रहेको बताए । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न र अहिलेको परिस्थिति अनुसार फेरि एकताको आधार खोज्न ढिला गर्न नहुने उनले उल्लेख गरे ।



















