
धरान । सुनसरीको धरानमा आइतबार दिउँसो छुरा प्रहार गरेर एक जना युवकको हत्या गरिएको छ ।
धरान उपमहानगरपालिका–१० बेलगाछी लाइनका २७ वर्षीय जीवन भुजेलको हत्या भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार स्थानीय युवासँग आपसी विवाद हुँदा भुजेलमाथि दिउँसो १ः४५ बजेतिर छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
छुरा प्रहारबाट भुजेलको दायाँ कुममा गम्भीर चोट लागेको थियो । गम्भीर अवस्थामा उपचारका लागि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यहाँ सम्भव नभएपछि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरियो ।
उपचारकै क्रममा उनलाई चिकित्सकले दिउँसो ४ः३५ बजेतिर मृत घोषणा गरेको डीएसपी खड्काले बताए । उनका अनुसार घटनामा संलग्नको पहिचान भइसकेको छ । पक्राउ भने परेका छैनन् ।
भुजेललाई धरान–१९ का अन्दाजी २८ वर्षीय जीमी भनिने अर्जुन विश्वकर्माले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । ‘हत्यामा संलग्न फरार भएका छन् । पहिचान भइसकेको छ । पक्राउका लागि खोजी तीव्र पारिएको छ,’ डीएसपी खड्काले भने । भुजेल र विश्वकर्माबीचमा के विषयलाई लिएर विवाद भएको थियो भन्ने पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।



















