
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ ।
प्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका बालेन्द्र (बालेन) शाह लगातार दोस्रोपटक अनुपस्थित भएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो । संसदीय समितिमा प्रधानमन्त्री उपस्थित नभई गृह मन्त्रालयसँग सम्बन्धित गम्भीर विषयमा छलफल गर्नुको औचित्य नरहेको भन्दै कांग्रेसका सांसदहरू बैठकमा सहभागी नभएका हुन् ।
समितिले सुकुम्वासी बस्ती खाली गराइएको विषय, सुरक्षा प्रशासन तथा गृह प्रशासनसँग सम्बन्धित समसामयिक विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्न खोजेको थियो । सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसद अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहे ।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिन तयार भए मात्रै कांग्रेस बैठकमा सहभागी हुने स्पष्ट पारे । उनले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै हातमा रहेकाले समितिले उठाएका प्रश्नको उत्तर पनि प्रधानमन्त्रीबाटै आउनुपर्ने बताए ।
उनले प्रधानमन्त्री बिना बैठक बस्नु पचारिकतामा सीमित हुने टिप्पणी गर्दै कांग्रेस त्यस्तो बैठकमा सहभागी नहुने अडान दोहोर्याए । समितिका सभापति हरि ढकाललाई समेत प्रधानमन्त्रीलाई उपस्थित गराउन पटकपटक आग्रह गरिएको जानकारी उनले दिए ।
आङ्देम्बेका अनुसार प्रधानमन्त्री उपस्थित हुने सुनिश्चितता भए मात्रै कांग्रेसले आगामी बैठकमा सहभागिता जनाउनेछ । प्रधानमन्त्रीको लगातार अनुपस्थितिका कारण समिति बैठक दोस्रोपटक प्रभावित बनेको छ ।

























