
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले रास्वपा सरकारले संसद् अधिवेशन स्थगित गरेर आठ वटा अध्यादेश ल्याउनुको मुख्य लक्ष्य प्रशासन र न्यायतन्त्रमा एकल प्रभुत्व जमाउनु मात्र रहेको बताए । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका हुन् ।
रास्वपाको नीति र नेतृत्वबारे टिप्पणी गर्दै थापाले यस दलको सफलता दशकौँदेखि पुराना दलहरूले गरेका कमजोरी, एआईको जादु र विश्व भू-राजनीतिको अदृश्य प्रभावको उपज भएको दाबी गरे । वैशाख २८ गते सार्वजनिक सरकारको नीति तथा कार्यक्रमले आगामी निर्वाचनमार्फत सबै तहमा रास्वपाको एकल नेतृत्व स्थापित गर्ने रणनीति लिएको उनले बताए । ‘यो लक्ष्य हासिल गरेपछि रास्वपाको कथित निलो क्रान्तिले पूर्णता पाउनेछ,’ बादलले भने ।
उनले रास्वपा कुनै विचारमा आधारित दल नभएर महत्त्वाकाङ्क्षी र अराजक जमातको अस्थायी गठजोड भएको टिप्पणी गरे । लोकप्रियतावादको जगमा उभिएको यो दल चरम अवसरवाद र अस्थिर प्रवृत्तिको संवाहक भएको उनको आरोप थियो । रूपमा प्रिय देखिए पनि सार र परिणाममा यो घातक हुने तथा भ्रम र विरोधाभासको दर्शन भएको उनले उल्लेख गरे ।
बादलले लिपुलेक र टीओबी काण्डबारे नीति तथा कार्यक्रम मौन रहेको भन्दै प्रश्न गरे । शिक्षक तथा पेसाकर्मीको अधिकार खोसिँदा ‘नीति कार्यक्रमको घण्टी’ नबजेको भन्दै उनले कटाक्ष गरे । ‘ऋण लिएर विकास हुँदैन भन्नेहरूले अहिले किन ऋण लिइरहेका छन् ?’ भन्दै उनले दर्जनौँ प्रश्न गर्दै सरकारको जवाफ माग गरे ।



















