
विराटनगर । नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टी सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । डाक्टर शेखर कोइराला समूहका उनी विशेष महाधिवेशनमा थापाको पक्षमा उभिएका थिए । विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कार्कीले सभापतिको पछिल्लो निर्णयले पार्टीभित्रको एकतालाई कमजोर बनाएको र द्वन्द्व निम्त्याएको आरोप लगाए ।
कांग्रेस देउवा र सिटौला पक्षको बैठकबाट बाहिरिने क्रममा कार्कीले सभापतिको व्यवहारलाई तत्कालीन माओवादीको युद्धकालीन रणनीतिसँग तुलना गरे ।
उनले घरभित्रै चोरी गरेर फेरि अंश खोज्ने प्रवृति सभापतिमा देखिएको गुनासो गरे ।
कार्कीले आफूहरू एकताको पक्षमा रहेको बताए । उनले यो भेला कसैको विरुद्ध नभई पार्टीलाई विधि विधान अनुसार चलाउन र सभापतिलाई आफ्नो जिम्मेवारीप्रति जवाफदेही बनाउनका लागि भएको उल्लेख गरे । ‘ मेरो कुनै यु–टर्न वा स्कल टर्न होइन, हामी त एकताको अधिवेशन र सुदृढ कांग्रेसको पक्षमा छौँ,’ कार्कीले भने ।



















