प्रतीकात्मक तस्बिरकाठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्त सुवास लावती पक्राउ परेका छन्। पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय लावतीलाई एनसिबी अबुधाबी युएईको समन्वयमा पक्राउ गरी बिहीबार नेपाल फिर्ता ल्याइएको हो।
लावतीमाथि वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई सर्बिया पठाइदिन्छु भन्दै ११ लाख ६१ हजार रुपैयाँ ठगी गरेको आरोप छ। पीडितबाट उक्त रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाई उनी फरार भएका थिए।
उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी पक्राउ गर्न नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८२ साउन २६ गते रेड नोटिस जारी गरेको थियो। पक्राउ परेका लावतीलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल बुझाइएको प्रहरीले जनाएको छ।



















