
काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव आवश्यक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा प्राप्त समयमा बोल्दै रास्वपाका सहमहामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले सांसदहरूका लागि स्वकीय सचिव आवश्यक रहेको बताएका हुन् ।
‘सांसदहरूलाई सक्षम बनाउन, सांसदहरूको वृति विकास र क्षमता अभिवृद्धिमा लगानी गर्ने विषय नीति तथा कार्यक्रममा समेटियोस्,’ उनले भने, ‘पहिलो लगानी सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गरेर गरियोस् ।’ यसअघि भने रास्वपा स्वकीय सचिव नचाहिने पक्षमा थियो ।
सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले सांसद्का स्वकीय सचिवको पद खारेज गरेको थियो । त्यसबेला सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूचीमा हेरफेर गरेर संसद्का स्वकीय सचिवको सुविधा खोसेको थियो ।



















