धरानबाट दुई फरार प्रतिवादी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार ०६:१८

धरान । सुनसरीको धरानबाट फरकफरक मुद्दामा कैद सजाय तोकिएका दुई जना प्रतिवादीलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले शुक्रबार राति जबरजस्ती करणी मुद्दामा फरार रहेका धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय प्रकाश दमाईलाई पक्राउ गरेको हो । उनलाई धरान–१७ स्थित पटनाली क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

सुनसरी जिल्ला अदालतले दमाईलाई २०७९ पुस ५ गते दोषी ठहर गरेको थियो । अदालतले १० वर्ष कैद, दुई लाख रुपैयाँ जरिबाना, एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति तथा १२ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने फैसला सुनाएको हो ।

उनले अदालतको फैसला अनुसार कैद सजाय भुक्तान गरिरहेका थिए । तर, जेनजी आन्दोलनको आवरणमा २०८२ साल भदौ २४ गते सुनसरीकै झुम्का कारागारबाट फरार भए । खोजी गर्दै जाने क्रममा दमाईलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

त्यस्तै, प्रहरीले धरान–१५ का २९ वर्षीय दाँते भनिने गणेश राईलाई पनि पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका राईलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनसरी जिल्ला अदालतले २०७८ पुस २३ गते उनलाई दोषी ठहर गरेको थियो । ६ महिना कैद र ५ हजार रुपैयाँ जरिबानाको सजाय तोकिए पनि उनी फरार रहेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.