
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज (आइतबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरेर ३३ औँ मदन–आश्रित स्मृति दिवस मनाउँदैछ । पार्टीले स्मृति दिवसलाई विचार, संगठन र जनसम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा मनाउने गरेको छ ।
पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा स्मृतिसभा, विचारगोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर तथा अस्पतालमा बिरामीलाई फलफूल वितरणजस्ता कार्यक्रम गरिँदैछ । मदननगर बल्खुस्थित पार्टी कार्यालय र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा मदन–आश्रितको राजनीतिक योगदान र विचारधाराका बारेमा चर्चा गर्ने छन् । विक्रम संवत २०५० जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा परेर मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो । भण्डारीलाई एमालेले ‘जनताको बहुदलीय जनवाद’का प्रवर्तकका रूपमा सम्मान गर्दै आएको छ ।
यस अवसरमा मदन पत्नी एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सन्देश जारी गर्दै संगठनात्मक एकता, नेता–कार्यकर्ताको सक्रियता र समर्पणले मात्र चुनौतीहरूको सामना गर्न सकिने बताएकी छन् । उनले मदन भण्डारीले देखाएको जनमुखी राजनीति, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धता आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेकी छन् ।

























