३३ औँ मदन–आश्रित स्मृति सभामा मुख्य वक्ता पूर्वराष्ट्रपति भण्डारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार १४:३७
३३ औँ मदन–आश्रित स्मृति सभामा मुख्य वक्ता पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले) की पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लामो अन्तरालपछि पार्टीको औपचारिक मञ्चमा प्रमुख अतिथिका रूपमा झुल्किएकी छन् । एमालेद्वारा आयोजित ३३ औँ मदन–आश्रित स्मृति सभामा उनलाई प्रमुख वक्ताका रूपमा निमन्त्रणा गरिएको थियो ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी एमालेको आधिकारिक कार्यक्रममा वक्ताका रूपमा सहभागी भएको यो पहिलो पटक हो । यस सहभागितालाई राजनीतिक वृत्तमा उनको सक्रिय राजनीतिमा पुनरागमनको बलियो संकेतका रूपमा हेरिएको छ ।

Advertisement

पछिल्लो समय भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीमा रहेको चर्चा चलिरहेको छ । भण्डारीको सचिवालयका अनुसार उनलाई पार्टीले ‘प्रमुख वक्ता’ का रूपमा विशेष सम्मानका साथ बोलाएकाले उनी कार्यक्रममा सहभागी भएकी हुन् ।

यद्यपि, एमालेभित्र भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय भने अझै पेचिलो बनिरहेको छ । उनले सदस्यता नवीकरणका लागि इच्छा देखाए पनि अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रक्रियालाई अगाडि बढ्न नदिएको चर्चा पार्टीभित्रै हुने गरेको छ । यस्तो पृष्ठभूमिमा पार्टीको मुख्य कार्यक्रममा उनको उपस्थिति र सम्बोधनलाई अर्थपूर्ण मानिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले एमालेको वैचारिक जग ‘जनताको बहुदलीय जनवाद’ (जबज) को महत्वमाथि जोड दिइन् । उनले जबजलाई नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचारको रूपमा व्याख्या गरिन् ।

‘एमालेले मार्गदर्शन सिद्धान्तका रूपमा अवलम्बन गरेको ‘जबज’ नेपाली समाजको माटो सुहाउँदो विचार हो,’ भण्डारीले भनिन्, ‘यसलाई हामीले नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात् गरेका छौँ । यसले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई सही दिशा निर्देश गर्दै एमालेलाई जनताको भरोसायोग्य शक्ति बनाएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको यो सिद्धान्तले नै नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक र जनमुखी बनाएको उनको तर्क थियो । भण्डारीको यो सम्बोधनले उनी अझै पनि पार्टीको वैचारिक धारलाई मजबुत बनाउन प्रतिबद्ध रहेको सन्देश दिएको छ ।

पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको उक्त स्मृति सभामा भण्डारीको उपस्थितिले कार्यकर्तामाझ नयाँ उत्साह थपेको देखिएको छ । उनको आगामी भूमिका कस्तो हुनेछ भन्ने विषयले अहिले एमालेभित्र र बाहिर निकै चासो जगाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.