
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले दासढुंगा घटना अझै पनि अनुत्तरित र रहस्यमय रहेको दाबी गर्दै हालका राजनीतिक घटनाक्रमहरू पनि त्यसैको निरन्तरता भएको टिप्पणी गरेका छन् ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार बल्खुमा आयोजित कार्यक्रममा बोल्दै उनले दासढुंगा घटनालाई सामान्य सडक दुर्घटना नभई देशी–विदेशी शक्तिहरूको राजनीतिक षड्यन्त्रको रूपमा बुझ्नुपर्ने बताएका हुन् । उनका अनुसार इतिहासमा जब कुनै दल वा नेतृत्व सत्ताका लागि चुनौती बन्छ, त्यसलाई समाप्त पार्ने प्रयास हुने गरेको छ ।
कोतपर्वदेखि दरबार हत्याकाण्डसम्मका घटनालाई उल्लेख गर्दै उनले यस्ता प्रवृत्ति अहिले पनि विभिन्न स्वरूपमा देखिँदै आएको दाबी गरे । बादलले २०८२ साल भदौ २३ र २४ का घटना पनि दासढुंगा घटनाकै निरन्तरता भएको बताए । ‘पार्टी कार्यालय, नेताका निवास तथा राज्य संरचनामाथि आक्रमण हुनु भनेको दासढुंगा घटनाकै निरन्तरता हो,’ उनले भने ।
सरकार र संसद् विघटन गर्ने प्रयासदेखि लिएर पछिल्ला राजनीतिक निर्णय, गिरफ्तारी र मुद्दासम्मका घटनामा पनि समान प्रवृत्ति देखिने उनको दाबी छ । उनले एमाले र यसको नेतृत्वविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको दाबी गर्दै पार्टी र नेतृत्वको रक्षाका लागि दृढ भएर उभिनुपर्ने आवश्यकता रहेको बताए ।
साथै, उनले जबज (जनताको बहुदलीय जनवाद)विरुद्ध भ्रम फैलाउने प्रयास भएको उल्लेख गर्दै त्यसको रक्षा र विकासका लागि पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए ।



















