
भद्रपुर । झापामा पार्किङ गरी राखिएका सिटी सफारी चोरी गर्दै आएको गिरोहको पर्दाफास भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लामो समयदेखि भद्रपुर, बिर्तामोड र काँकरभिट्टा आसपासका क्षेत्रमा सिटी सफारी चोरी हुँदै आएको घटनामा संलग्न समूहलाई पक्राउ गरिएको हो ।
प्रहरीले मुख्य चोरीमा संलग्न तीन जना र चोरीका सामान खरिदबिक्री गर्ने सात जना गरी कुल १० जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा मेचीनगर, बिर्तामोड, अर्जुनधारा क्षेत्रका साथै भारतका विभिन्न स्थानबाट नेपालमा बसोबास गर्दै आएका व्यक्तिहरू पनि रहेका छन् ।
सफारी चोरी गर्ने मेचीनगर नगरपालिका–७ का २२ वर्षीय अभिषेक चौधरी भनिने रूपककुमार सरदार, मेचीनगर–१० का ३० वर्षीय अभिषेक उराउ र बिर्तामोड नगरपालिका–७ का ३१ वर्षीय मोहमद सालिम पक्राउ परेका छन् । त्यस्तै, सफारीका ब्याट्री खरिद गर्ने बिर्तमोड–५ का ४३ वर्षीय नसिम अकतर, भारतको किसनगन्ज घर भई झापाको अर्जुनधारा नगरपालिका–६ मा कोठा भाडामा लिएर बस्दै आएका २० वर्षीय एमडी जिगर आलम पक्राउ परेका छन् ।
ब्याट्री खरिद गर्ने अर्जुधारा–८ का ३२ वर्षीय सञ्जय चौधरी, मेचीनगर–७ का २० वर्षीय डिकेश राजवंशी, भारत पश्चिमबंगाल पानीट्यांकीका घर भई मेचिनगर–१४ मा बस्दै आएका ३२ वर्षीय पान बर्मु, पश्चिम बंगाल बेलङ्गा थाना घर भई मेचीनगर–१४ मा बस्दै आएका ३३ वर्षीया मोहमद साविर मुल्ला र भारत पश्चिमबंगाल बरमपुर थाना घर भई मेचीनगर–१द्ध मा बस्दै आएका ४७ वर्षीय आख्तरुल शेख पनि पक्राउ परेका छन् ।
अनुसन्धानका क्रममा प्रहरीले चोरी गरिएका सातवटा सिटी सफारी, २० वटा ब्याट्री तथा एउटा चार्जिङ कन्ट्रोलर बरामद गरेको छ । बरामद सामग्रीसहित पक्राउ परेका व्यक्तिहरूबाट करिब २१ लाख ५५ हजार रुपैयाँ बराबरको चोरीको सम्पत्ति फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार सिटी सफारी चोरीमा संलग्न मुख्य व्यक्तिहरूले पार्किङमा राखिएका साधनलाई लक्षित गरी रातिको समयमा चोरी गर्दै आएका थिए । चोरी गरिएका सफारीका पार्टपुर्जा तथा ब्याट्री विभिन्न कवाडी पसल तथा गोप्य स्थानमा बिक्री वितरण हुने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
झापा प्रहरीका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सिसीटिभी फुटेज, प्राप्त सूचना र प्राविधिक अनुसन्धानका आधारमा गिरोहको पहिचान गरिएको हो । विभिन्न स्थानमा निगरानी बढाएपछि संलग्न व्यक्तिहरूलाई क्रमशः पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए ।
पक्राउ परेकामध्ये केहीले चोरीका ब्याट्री तथा पार्टपुर्जा खरिद गर्ने र बजारमा पुनः बिक्री गर्ने गरेका पाइएको छ । यस घटनाले चोरीको सञ्जाल चोरहरूमा मात्रै सीमित नभई खरिदबिक्रीसम्म फैलिएको देखिएको छ ।
प्रहरीले चोरी भएका सिटी सफारी तथा अन्य सामान फेला पार्ने क्रम अझै जारी रहेको जनाएको छ । साथै, पक्राउ परेकामाथि मुलुकी फौजदारी अपराध संहिता, २०७४ अनुसार चोरी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयले यस्ता घटनाबाट बच्न सवारी धनीहरूलाई पार्किङमा सावधानी अपनाउन, सुरक्षित स्थानमा राख्न तथा सम्भव भएसम्म निगरानी बढाउन आग्रह गरेको छ । प्रहरीले सिटी सफारी चोरीका अन्य सम्भावित सञ्जालका बारेमा पनि अनुसन्धान भइरहेको जनाएको छ ।


















