
झापा । झापाको कमल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
गत वैशाख ३१ गते भएको दुर्घटनामा परी घाइते भएका कमल गाउँपालिका–२ का ७६ वर्षीय धान्यप्रसाद दुलालको जेठ ४ गते राति मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वैशाख ३१ गते दिउँसो ३ः३० बजेतिर कमल गाउँपालिका–२ समयगढस्थित भित्री सडक खण्डमा दुर्घटना भएको थियो । क्याम्पा बजारबाट छलफल चोकतर्फ जाँदै गरेको प्र.१–०२–०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदल यात्री दुलाललाई ठक्कर दिएको थियो ।
दुर्घटना लगत्तै गम्भीर घाइते भएका दुलाललाई उपचारका लागि सुरुमा कमल नगर अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा जेठ ४ गते राति ८ः३० बजेतिर उनको निधन भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल चालक दमक नगरपालिका–४ का २४ वर्षीय प्रवीण ढुंगानालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय दमकमा चालकलाई राखेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















