
काठमाडौं । बजेट प्राथमिकतासम्बन्धी छलफलका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि देखिएको छ । छलफलमा अर्थमन्त्रीको अनुपस्थितिलाई लिएर सांसदहरूले प्रश्न उठाएका छन् ।
रास्वपा सांसद अमरेशकुमार सिंहले बजेटजस्तो महत्वपूर्ण विषयमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुने परम्परा तोडिएको भन्दै आपत्ति जनाए । उनले ‘परम्परा तोड्ने नाममा सबै संरचना भत्काउने’ प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राज्य सञ्चालनको प्रक्रिया कमजोर बनाइएको टिप्पणी गरे ।
उनका अनुसार विगत लामो समयदेखि बजेट प्राथमिकतासम्बन्धी छलफलमा अर्थ मन्त्रालयका जिम्मेवार प्रतिनिधिको उपस्थिति रहने अभ्यास भए पनि अहिले त्यसलाई बेवास्ता गरिएको छ । उनले यसलाई नीति निर्माण प्रक्रियामै असन्तुलन ल्याउने कदमका रूपमा व्याख्या गरे ।
त्यसैगरी, उनले मधेशको प्रतिनिधित्व र प्राथमिकतामाथि पनि प्रश्न उठाउँदै निर्वाचनमा ठूलो समर्थन पाए पनि नीति निर्माण र विकास कार्यक्रमहरूमा मधेशलाई समेट्न नसकिएको आरोप लगाए । मधेशको समस्या समाधानमा ढिलाइ भए सामाजिक असन्तोष बढ्न सक्ने चेतावनी पनि उनले दिए ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको समन्वय अभाव र मन्त्रालयगत उपस्थिति कमजोर हुँदा बजेट प्राथमिकतासम्बन्धी छलफल प्रभावकारी हुन नसकेको सांसदहरूको भनाइ छ । सांसदहरूको असन्तुष्टिले सरकारको नीति निर्माण प्रक्रिया, समन्वय र प्रतिनिधित्वको सवालमा प्रश्न उठाएको छ ।

























