ट्रम्प र नेतन्याहु मार्नेलाई इनाम दिने कानुन ल्याउँदै इरान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार ०७:१७

एजेन्सी । इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई मार्नेलाई ठूलो रकम इनाम दिने कानुन ल्याउने तयारी गरेको छ ।

बेलायती पत्रिका ‘द टेलिग्राफ’का अनुसार इरानी संसद्अन्तर्गतको राष्ट्रिय सुरक्षा आयोगले ट्रम्प र नेतन्याहुको हत्या गर्ने व्यक्ति वा संस्थालाई ४ करोड ३५ लाख पाउन्ड स्टर्लिङ इनाम दिने प्रस्तावसहितको विधेयक तयार गरिरहेको हो । यो रकम नेपाली रुपैयाँमा झन्डै ९ अर्ब ९८ करोडभन्दा बढी हुन्छ ।

Advertisement

आयोगका प्रमुख इब्राहिम अजिजीले ‘इस्लामिक गणतन्त्रको सैन्य र सुरक्षा बलद्वारा जवाफी कारबाही’ शीर्षकमा विधेयक तयार भइरहेको बताएका छन् । उनका अनुसार उक्त कानुनले ट्रम्प एवं नेतन्याहुलाई मार्ने व्यक्ति वा समूहलाई आर्थिक पुरस्कार दिने व्यवस्थालाई औपचारिकता दिनेछ ।

इरानी सांसद महमुद नबाभियनले संसदमा यस विषयमा छिट्टै मतदान हुन सक्ने बताएका छन् । प्रतिवेदनअनुसार गत फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त हवाई आक्रमण गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित उच्च सैन्य तथा राजनीतिक नेतृत्वलाई निशाना बनाएपछि त्यसको बदला स्वरूप यस्तो प्रस्ताव ल्याइएको हो ।

यसैबीच, राष्ट्रपति ट्रम्पले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सजस्ता खाडी मुलुकहरूको आग्रहपछि इरानमाथि योजनाबद्ध सैन्य आक्रमण स्थगित गरिएको दाबी गरेका छन् । उता इरानका पूर्व रिभोलुसनरी गार्ड कमान्डर मोहसिन रेजाईले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको अभिव्यक्तिको आलोचना गर्दै इरानी जनता र नेतृत्वले आत्मसमर्पण नगर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.