
विराटनगर । विराटनगरबाट प्रहरीले भन्सार छलीको प्रोटिन ‘सी’ पाउडर बरामद गरेको छ । भारतबाट अवैध रूपमा भित्राइएको पाउडर घरमा भण्डारण गरेर राखिएको अवस्थामा बरामद गरिएको हो ।
विराटनगर महानगरपालिका–७ स्थित पोट्टनी मार्गमा रहेको रवीन्द्रकुमार देवको पक्की घरमा भन्सार छलीका सामान लुकाएर राखिएको सूचनाका आधारमा प्रहरीले बुधबार अपराह्न करिब ३ बजेतिर छापा हानेको थियो । प्रहरीले घरभित्र चेकजाँच गर्दा गर्भवती महिलाले प्रयोग गर्ने प्रोटिन ‘सी’ पाउडरसहित विभिन्न सामग्री फेला पारेको थियो ।
प्रहरीका अनुसार घरभित्रबाट ४४३ बट्टा पाउडर बरामद गरिएको छ । बरामद गरिएको पाउडरको मूल्य २ लाख २१ हजार ५ सय रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ । अवैध सामान बरामद गरे पनि प्रहरीले घरधनी देवलाई भने पक्राउ गरेको छैन ।

























