
काठमाडौं । नेकपा (एमाले)ले संविधान संशोधनसम्बन्धी अध्ययन र सुझाव तयार गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने तयारी गरेको छ।
पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै बसेको सचिवालय बैठकमा उक्त कार्यदल गठनको प्रस्ताव पेस गरेका हुन् । प्रस्तावअनुसार कार्यदलको संयोजकमा उपाध्यक्ष विष्णु पौडेल तथा सदस्यहरूमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई र पासाङ शेर्पा रहने छन् ।
एमालेले संविधान संशोधनका विभिन्न पक्षमा पार्टीको आधिकारिक धारणा तयार पार्ने उद्देश्यसहित यो कार्यदल अघि बढाउन लागेको हो । प्रस्तावमाथि शुक्रबार बस्ने बैठकमा छलफल गरी औपचारिक निर्णय लिने तयारी रहेको पार्टी स्रोतले जनाएको छ ।
यसैबीच, सरकारले पनि असीम शाहको संयोजकत्वमा संविधान संशोधनसम्बन्धी बहस कार्यदल गठन गरिसकेको छ । दुवै तर्फबाट गठन भएका कार्यदलहरूबीच संविधान संशोधनका विषयमा राजनीतिक बहस र तयारी थप तीव्र हुने देखिएको छ ।
संविधान संशोधनलाई लिएर प्रमुख राजनीतिक दलहरूबीच चासो बढ्दै गएको छ । यही बेला एमालेको कदमलाई आगामी राजनीतिक रणनीतिको हिस्साका रूपमा पनि हेरिएको छ ।



















