ओलीमाथि राजीनामाको दबाब

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार ०६:२४

काठमाडौं । नेकपा (एमाले)भित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई लिएर असन्तुष्टि थप तीव्र बनेको छ । उनमाथि पार्टीभित्रैबाट राजीनामाको दबाब बढेको हो ।

शुक्रबार बसेको सचिवालय बैठकमा नेताहरुले ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । अध्यक्ष ओलीको निवास गुण्डुमा बसेको बैठकमा नेतृत्व, पार्टीको पछिल्लो अवस्था, निर्वाचनमा भएको पराजय र पार्टी पुनर्गठन अभियानलाई लिएर नेताहरूबीच तीव्र विवाद देखिएको हो ।

Advertisement

बैठकमा विशेषगरी अध्यक्ष ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङबीच चर्काचर्की भएपछि केही समय बैठकको माहोल तनावपूर्ण बनेको थियो । सचिवालयका नेताहरूका अनुसार अध्यक्ष ओलीले पार्टीविरुद्ध पुनर्गठन अभियान चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि उपाध्यक्ष गुरुङले प्रतिवाद गरेका थिए ।

बैठकमा उपस्थित एक नेताका अनुसार अध्यक्ष ओलीले पार्टी नेतृत्व संकटमा परेको बेला नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा केही नेताहरू पुनर्गठनको अभियानमा लागेको भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसपछि उपाध्यक्ष गुरुङले प्रत्यक्ष रूपमा अध्यक्ष ओलीलाई प्रश्न गर्दै एमाले कुनै व्यक्तिको निजी कम्पनी नभएको बताएका थिए ।

‘एमाले तपाईंले मात्रै बनाएको पार्टी हो र ? एमाले तपाईंको प्राइभेट कम्पनी हो ? यो पार्टीमा हाम्रो योगदान छैन ? अरू नेताहरूको भूमिका छैन ? कसलाई धम्की दिन खोजिएको हो ?’ भन्दै गुरुङले प्रतिवाद गरेको स्रोतको दाबी छ । ओली र गुरुङबीच केही समय भनाभन चलेपछि बैठकमा असहज अवस्था सिर्जना भएको बताइएको छ ।

सचिवालयका केही सदस्यहरूका अनुसार एमालेको उच्च तहको बैठकमा यस प्रकारको खुला विवाद यसअघि विरलै देखिएको थियो । शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जनाले अध्यक्ष ओलीलाई नेतृत्वबाट मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए । उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीको कमजोर अवस्थाको जिम्मेवारी नेतृत्वले लिनुपर्ने धारणा राखेका थिए ।

यद्यपि, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने अध्यक्ष ओलीको पक्षमा दृढ रूपमा उभिएका थिए । उनले पार्टीमाथि देशी–विदेशी शक्तिको घेराबन्दी भएको र त्यसकै कारण पार्टीले निर्वाचनमा पराजय भोग्नुपरेको विश्लेषण प्रस्तुत गरेका थिए ।

बैठकमा बोल्ने क्रममा बादलले एमालेमाथि चौतर्फी हमला भइरहेको दाबी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू पार्टी कमजोर बनाउन सक्रिय रहेको बताएका थिए । अध्यक्ष ओलीले पनि बादलको भनाइलाई समर्थन गर्दै त्यसलाई पार्टीको आधिकारिक बुझाइका रूपमा प्रस्तुत गर्न खोजेको स्रोतको भनाइ छ ।

तर, उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले त्यसको प्रतिवाद गर्दै निर्वाचन हारको सम्पूर्ण कारण बाह्य शक्तिलाई मात्रै देखाउन नमिल्ने बताएका थिए । उनीहरूले पार्टीभित्रको नेतृत्व शैली, संगठनात्मक कमजोरी र कार्यकर्ता पंक्तिमा बढेको निराशा पनि हारको मुख्य कारण भएको धारणा राखेका थिए ।

त्यसपछि बैठकको माहोल झन् तनावपूर्ण बनेको थियो । एक नेताका अनुसार नेताहरूको अनुहारमा रिस स्पष्ट देखिन्थ्यो भने बोल्ने शैली पनि असामान्य रूपमा कठोर बनेको थियो । ‘एक जना नेता बोल्दा अर्को नेताले बीचमै प्रतिक्रिया जनाउने अवस्था बन्यो । केही समय त बैठक नै सन्नाटाजस्तो भयो,’ एक सचिवालय सदस्यले भने ।

एमालेभित्र पछिल्लो समय अध्यक्ष ओलीको राजीनामाको माग खुलेर उठ्न थालेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जित्दै जम्मा २५ सिटमा सीमित भएपछि नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठ्दै आएको छ ।

पार्टीभित्रका असन्तुष्ट समूहहरूले पराजयको नैतिक जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने आवाज उठाउँदै आएका छन् । केही नेता कार्यकर्ताले नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको माग गर्दै हस्ताक्षर अभियानसमेत चलाइसकेका छन् ।

सचिवालय बैठकमा पनि यही असन्तुष्टि सतहमै देखिएको नेताहरूको भनाइ छ । चार उपाध्यक्षले पार्टीलाई संकटबाट जोगाउन नेतृत्व परिवर्तन आवश्यक भएको धारणा राखेपछि ओली पक्ष असन्तुष्ट बनेको थियो ।

स्रोतका अनुसार अध्यक्ष ओलीले आफूविरुद्ध पार्टीभित्र मोर्चाबन्दी भइरहेको संकेत बुझेपछि आन्तरिक समीकरण व्यवस्थापनमा सक्रियता बढाएका छन् । विगतमा आफू निकट मानिएका केही नेताहरू समेत अहिले आलोचनात्मक देखिन थालेपछि ओलीले नयाँ राजनीतिक सन्तुलन खोज्ने प्रयास गरिरहेका छन् ।

कतिपय नेताहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता खुला गरिनुलाई पनि यही रणनीतिसँग जोडेर हेर्ने गरेका छन् । ओलीमाथि बढ्दो दबाबलाई मत्थर पार्न र पार्टीभित्र आफ्नो शक्ति सन्तुलन जोगाउन यस्तो कदम चालिएको विश्लेषण एमालेभित्रै हुन थालेको छ ।

एमालेभित्र नेतृत्व परिवर्तनको बहस अब आन्तरिक असन्तुष्टिमा मात्रै सीमित नरही सचिवालय तहसम्म पुगेको शुक्रबारको बैठकबाट प्रष्ट हुन्छ । अध्यक्ष ओली तत्काल नेतृत्व छाड्ने मनस्थितिमा नरहेको देखिए पनि पार्टीभित्र उनको कार्यशैली र नेतृत्व क्षमतामाथिको प्रश्न भने झन् तीव्र बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया
हिमाल चढ्ने सशस्त्र प्रहरीका दुई महिलालाई बढुवा गरिने
पाँचथरको याङ्वरकमा बाढी-पहिरोको वितण्डा
कोइराला निवासबाट गगन थापाले भने, ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोज्यो’
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
झापा कारागारका कैदीको मृत्यु, तीनवटा अस्पतालको प्रयास असफल
बस यात्रामा नयाँ सुरक्षा अभ्यास, अब लगेजमा ट्याग अनिवार्य
तुल्सी गब्बार्डले अमेरिकी गुप्तचर प्रमुख पद छोडिन्, पारिवारिक कारण देखाउँदै राजीनामा
भारतमा बढ्यो पेट्रोलियमको मूल्य
एमाले सचिवालय बैठक बस्दै, नेतृत्व हस्तान्तरणको बहस तीव्र
इरानमाथिको हमलाले अमेरिकी सुरक्षा साझेदारी संकटमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.