
विराटनगर । पार्टी नेतृत्वले क्रियाशील सदस्यता राेक्नेकाे जिम्मेवारी खाेस्न थालेपछि नेपाली कांग्रेसका नेता केदार कार्कीले लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने काम बन्द गर्न सुझाव दिएका छन् ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले शनिबार फेसबुकमा जंगी अड्डाको हुकुम र त्रासजस्तो वातावरणले पार्टी नचल्ने बताएका हुन् ।
‘पार्टीमा समावेश हुने आधार आस्था र विश्वासले हो । समर्पण जङ्गी अड्डाको हुकुम र त्रासबाट पैदा हुँदैन,’ कार्कीले लेखेका छन्, ‘सैद्धान्तिक असहमतिका समाधान संवादबाट खोजिनुपर्छ ।’ जिम्मेवार निकायको अल्लारेपन र दम्भले पार्टी पद्धति कमजोर भएको कार्कीको टिप्पणी छ ।
‘जिम्मेवार निकायले अल्लारेपन र दम्भ प्रदर्शन गर्दा पार्टीको पद्धति नै कमजोर बन्दै गएको छ । पदलोलुपता समस्या हो । पदभन्दा माथि उठेर लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने प्रवृत्ति बन्द गर,’ उनले भनेका छन् ।
लोकतन्त्रमा असहमतिलाई संवादमा नल्याई ‘साइलेन्ट निलम्बन’ गर्नु अनैतिक र लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथिको धोका पनि रहेको गुनासाे गरेका छन् ।

























