
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङका युवा नेता वीरेन्द्रकुमार साहलाई केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय कार्यालयले जारी गरेको पत्रमार्फत साहलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
रास्वपाका महामन्त्री भूपदेव शाहद्वारा हस्ताक्षरित पत्रमा साहलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावलीअनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न विश्वास व्यक्त गरिएको छ । मोरङको सुनवर्षी नगरपालिका–२ निवासी साह लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।
रास्वपाले पछिल्लो समय संगठन विस्तारसँगै विभिन्न विभागहरूलाई सक्रिय बनाउने रणनीतिअनुसार नयाँ जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ। सोही क्रममा साहलाई केन्द्रीय सहकारी विभागमा समेटिएको हाे । साहले आफूलाई दिइएको जिम्मेवारी पार्टीको नीति र जनअपेक्षाअनुसार इमानदार ढंगले पूरा गर्ने प्रतिक्रिया दिएका छन् ।

























