
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालयमा अल्पमतमा परेका छन् । सचिवालय बैठकमा अधिकांश नेताले उनलाई मार्गप्रशस्त गर्न माग गरेका छन् । तर ओलीले आफू पछि नहट्ने बताएका छन् ।
शुक्रबार पाँच जना उपाध्यक्षले धारणा राखेका थिए । शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ५ जना सचिवले धारणा राखेका छन् ।
शनिबार धारणा राख्नेमध्ये उपमहासचिव योगेश भट्टराईले खुलेरै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे । महासचिव पोखरेलले पनि अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताए । उनले घुमाउरो रुपमा ओलीको राजीनामा माग गरे ।
उपमहासचिव लेखराज भट्टका अनुसार, बैठकका बीच बीचमा ओलीले नेताहरूलाई रोकेर आफ्ना कुरा भन्ने गरेका थिए । ओलीले बैठकमा ‘दिशानिर्देश’ गर्ने काम गरेका भट्ट बताउँछन् । नेताहरूबाट निरन्तर पार्टी रूपान्तरण र राजीनामाको दबाब बढेपछि ओलीले आफू राजीनामा गर्ने मनस्थितिमा नरहेको बताए । ‘मलाई यसरी सम्झाएर सक्नुहुन्न,’ उनले भनेका थिए,‘म सम्झिन्नँ, म यसरी छाड्दिनँ ।’
सचिवालय बैठकमा नेताहरूले मार्गप्रशस्त गर्न आग्रह गरिरहँदा ओली भने केन्द्रीय कमिटीमा आफू बलियो भएको तर्क गर्न थालेका छन् । अब ४ जना सचिवहरूले बैठकमा आफ्नो धारणा राख्न बाँकी छ ।

























