
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले पार्टीभित्र देखिएको पछिल्लो विवाद र नेतृत्व परिवर्तनको चर्चालाई मिडियामा अतिरञ्जित रूपमा प्रस्तुत गरिएको दाबी गरेका छन् ।
भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपछि उनले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा वा नेतृत्व परिवर्तनबारे कुनै ठोस छलफल नभएको बताए । भट्टका अनुसार बैठकमा सहभागी नेताहरूले अहिले देखिएका पार्टीभित्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि वर्तमान नेतृत्वकै भूमिकामा अघि बढ्नुपर्ने धारणा धेरैको रहेको उनको दाबी छ ।
उनले मिडियामा जस्तो नेतृत्व फेर्ने विषयमा केन्द्रित छलफल नभएको स्पष्ट पारे । उनका अनुसार अध्यक्ष ओलीले पार्टीभित्र देखिएका कमजोरी सुधार्दै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
देशको समसामयिक परिस्थिति र पार्टीभित्र कार्यकर्तास्तरमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने आवश्यकता पनि बैठकमा उठेको उनले बताए । बैठकमा शनिबार महासचिव, उपमहासचिव र सचिवहरूले आ–आफ्ना धारणा राखेका थिए भने बाँकी पदाधिकारीहरूले आइतबार आफ्नो विचार राखेपछि बैठकले औपचारिक निष्कर्ष निकाल्ने बताइएको छ ।

























