कोशीमा सत्ता समीकरण फेरबदलको रस्साकस्सी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार १२:१७

विराटनगर । कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वकाे सरकारको भविष्यलाई लिएर नयाँ बहस सुरु भएको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएर नेकपा एमाले सरकारमा सहभागी भएपछि त्यसको पराकम्प कोशी प्रदेशमा देखिएकाे हाे । काेशीमा कांग्रेस एमालेकाे सरकार छ । का‌ंग्रेस सत्ताकाे नेतृत्व लिन चाहान्छ । एमाले नेतृत्व मुख्यमन्त्री फेर्ने पक्षमा छ ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार सुनसरीको लौकहीमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशमा छिट्टै सत्ता परिवर्तन हुने सङ्केत गरे । उनका अनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता उद्धव थापाले गर्ने गृहकार्य भइरहेको छ ।

Advertisement

सत्ता ढल्ने त्रासका बीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ ७ गते प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । सामान्यतया नीति तथा कार्यक्रम ल्याउनुअघि प्रतिपक्षी दल र संसदीय समितिहरूसँग राय-सुझाव लिने परम्परा रहे पनि यसपटक मुख्यमन्त्रीले कसैसँग छलफल गरेनन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सरकारले प्रक्रिया मिचेर हतारमा नीति तथा कार्यक्रम ल्याएको बताउँछन् । ‘प्रतिपक्षी र समितिहरूसँग सुझाव माग्ने लोकतान्त्रिक परम्परालाई सरकारले बेवास्ता गरेको छ । यो सत्ता जोगाउने हतारो मात्रै देखिन्छ ।’ उनले भने ।

कांग्रेसका एक नेताका अनुसार बजेट आउनुअघि नै सरकार परिवर्तन गर्ने रणनीति बनेका कारण मुख्यमन्त्रीले हतार-हतार नीति तथा कार्यक्रम ल्याएका हुन् ।
मुख्यमन्त्री कार्कीका लागि बाह्य दबाब मात्र होइन, आफ्नै पार्टीभित्रको आन्तरिक कलह पनि चुनौती बनेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मुख्यमन्त्री कार्कीको सम्बन्ध पछिल्लो समय चिसिएको स्रोतको दाबी छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष ओली झापा-५ मा पराजित भएपछि कार्कीसँग रुष्ट छन् । निर्वाचनका क्रममा मतदाता र कार्यकर्ताले मुख्यमन्त्री कार्की र उनका दाजु दीपक कार्कीको व्यवहारप्रति गुनासो गरेका थिए । ‘आफ्नै गृह क्षेत्रको चुनावी परिणाम र कार्यशैलीका कारण अध्यक्ष ओली मुख्यमन्त्री फेर्ने मुडमा पुग्नुभएको हो,’ एमाले एक नेताले भने ।

अध्यक्ष ओलीले हिक्मतकुमार कार्कीलाई विस्थापित गरी एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई अगाडि सार्न चाहेका छन् । यद्यपि, मेन्याङ्बो आफैँ भने यसबारे केन्द्रमा सामान्य छलफल भए पनि कुनै ठोस निर्णय भइनसकेको बताउँछन् । ‘पहिले कोशीको नेतृत्व पूर्ण कार्यकाल एमालेले गर्ने सहमति भएको थियो, तर अहिले कांग्रेसले पनि दाबी गरिरहेको छ,’ उनले भने,’निर्णय भने केन्द्रकै हातमा छ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.