
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमण अनिश्चित बनेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा उनी जुन १ र २ मा भारत जाने तयारीमा रहेको रास्वपा स्रोतले जनाएको छ । भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम तय भएको स्रोतको दाबी छ ।
यद्यपि, यसका बारेमा औपचारिक पुष्टि गरिएको छैन । उनले भारतीय विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्रीलगायत उच्च अधिकारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनसँग पनि उनको भेट तय भएको र भाजपा कार्यालयमै स्वागतको तयारी गरिएको स्रोतको भनाइ छ ।
यसअघि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आएर प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने तयारीमा थिए । तर, प्रधानमन्त्री शाहसँग भेटको समय नमिलेपछि उनको नेपाल भ्रमण नै स्थगित भएको थियो ।
त्यसपछि भारत र चीनबीच लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा सञ्चालन गर्ने सहमति सार्वजनिक भएपछि नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएर असन्तुष्टि जनाएको थियो । नेपालसँग कुनै परामर्श नगरी मार्ग सञ्चालनको समझदारी गरिएको भन्दै सरकारले आपत्ति जनाएको थियो ।
उता, परराष्ट्रमन्त्री शिशिर खनालको प्रस्तावित भारत भ्रमण पनि अन्तिम समयमा रद्द भएको थियो । नेपालमा रास्वपाले ठूलो जनमत पाएपछि भारतीय प्रधानमन्त्री मोदीले रवि लामिछाने र बालेन्द्र शाह दुवैलाई टेलिफोनमार्फत बधाई दिएका थिए ।
तर, प्रधानमन्त्री बनेपछि शाहले भारतसँग तुलनात्मक रूपमा दूरी कायम राखेको विश्लेषण भइरहेका बेला भारतले रास्वपा सभापति लामिछानेलाई विशेष प्राथमिकतासहित निम्त्याएको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ ।



















