
काठमाडौं । संसद बैठकमा बाेल्न इन्कार गरिरहेका प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवसमा पनि नबाेल्ने भएका छन् । दिवसकाे अवरमा आयाेजित मूल समारोहलाई सम्बोधन नगर्ने भएका हुन् । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई दिइसकेका छन् । अब राष्ट्रपतिले सम्बाेधन गर्ने तयारी छ ।
गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुन्छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहन्छ । सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ । तर प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिएका बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका हुन् ।
प्रधानमन्त्री बालेनले सो समारोहलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाएको स्रोतले बतायो । मन्त्रिपरिषदको निर्णय अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिनु हुन अनुरोध गरिन्छ भन्ने व्यहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले बतायो । अब राष्ट्रपतिले गणतन्त्र दिवसलाई सम्बोधन गर्नेछन् ।

























