अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा आक्रमण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १२:१२

एजेन्सी । अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको जनाएको छ । आक्रमण इरानी क्षेप्यास्त्र केन्द्रहरू तथा समुद्री सुरुङ राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गरेर गरिएको अमेरिकी सेनाले जनाएको हो ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्ट्रल कमाण्ड)ले जारी गरेको विज्ञप्तिमा उक्त कारबाही आत्मरक्षाका लागि गरिएको उल्लेख छ । केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जारी युद्धविरामका बीच पनि अमेरिकी सेना संयमता अपनाउँदै आफ्ना सैनिकहरूको सुरक्षामा निरन्तर सक्रिय रहेको बताएका छन् ।

Advertisement

यता, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको स्वीकार गरेका छन् । तर, उनले द्वन्द्व अन्त्य गर्ने कुनै ठोस सम्झौता तत्काल हुने अवस्था नरहेको बताएका छन् ।

इरान–अमेरिका वार्ताको विषय चर्चामा रहिरहेका बेला अमेरिकाले नयाँ आक्रमण सार्वजनिक गरेपछि क्षेत्रीय तनाव थप बढ्ने संकेत देखिएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा रहेको युरेनियम नष्ट गर्नुपर्ने बताएका छन् । उनले इरानले आफ्नो युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका थिए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेखेका छन्, ‘युरेनियम तुरुन्तै अमेरिकालाई सुम्पिनुपर्छ ताकि त्यसलाई त्यहाँ लगेर नष्ट गर्न सकियोस्। अझ राम्रो त के हुनेछ भने, इरानसँग मिलेर यसलाई त्यस्तो स्थानमा नष्ट गरियोस् जहाँ एटोमिक इनर्जी कमिसन वा त्यस्तै कुनै संस्था उक्त घटनाको साक्षी बस्न सकोस् ।’

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि इरानको समृद्ध युरेनियम भण्डार हटाइँदासम्म युद्ध समाप्त भएको मान्न नसकिने बताएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.