
विराटनगर । प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर बुधबारको कोशी प्रदेशसभा बैठक तनावपूर्ण बनेको छ । मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले बुधबारकाे प्रदेशसभा बैठक अवरुद्ध गरे । मंगलबार पनि अवरुद्ध गरेका थिए ।
बुधबार बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले संसदीय परम्परा मिचिएको भन्दै ‘सर्वसम्मत’ नभई ‘बहुमत’का आधारमा पारित भएको रेकर्ड हुनुपर्ने माग गरेका थिए । सभामुखले उक्त विषय रेकर्डमा रहने जानकारी दिँदै बैठक अघि बढाउन खोजे पनि प्रतिपक्षी सांसदहरूले अवरोध जारी राखे ।
सभामुखले प्रतिपक्षीको विरोधका बीच जसपा सांसद निर्मला तावा लिम्बुलाई बोल्ने समय दिएपछि नेकपा सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई आक्रोशित भए । उनी जबरजस्ती रोष्टममा पुगेर माइक फाल्न खोज्दा मर्यादापालकहरूले रोकेका थिए ।
सभामुख विष्टले छलफलका क्रममा कसैले पनि संशोधन प्रस्ताव नराखेको र ‘हुन्न’ भन्ने आवाज नआएकाले नियमावली अनुसार नै सर्वसम्मति मानिएको दाबी गरे । प्रतिपक्षीको लगातारको अवराेध र रोष्टम घेराउका कारण बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
प्रतिपक्षी दलहरूले आफ्नो माग सम्बोधन नभएसम्म सदन चल्न नदिने अडान राखेका छन्।



















