
विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशको विकास, पूर्वाधार तथा विभिन्न विकास समितिको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजना बैङ्क सूचना प्रणालीमा प्रविष्ट भएका विभिन्न आयोजनाहरूको सूचीकृत विवरण प्रभावकारी रूपमा कार्यान्वयन अगाडि बढाउनका लागि प्रदेश योजना आयोगलाई सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
सिँचाइ व्यवस्थापन हस्तान्तरण कार्यविधिलाई थप व्यवस्थित बनाउनका लागि ‘सिँचाइ कार्यविधि २०८३’ लाई आवश्यक छलफल र परिमार्जनका लागि आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको छ ।
पुरानो घरको पुराना काठहरू ओसारपसार गर्न पाउने गरी खुला गर्ने निर्णय पनि गरेको छ ।
बैठकले हलेसी महादेव स्थान विकास समितिको कार्यकारी निर्देशक पदमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ का चक्रबहादुर राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । बृहत्तर वराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशक पदमा सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. १ निवासी अविजाल विष्टलाई नियुक्ति दिने निर्णय गरेको छ ।

























