
काठमाडौं । एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी-२० छनोटअन्तर्गत समूह ‘ए’को आफ्नो पहिलो खेलमा नेपालले चीनलाई २ सय २१ रनले पराजित गरेको छ ।
सिंगापुरमा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ सय १४ रनको विशाल लक्ष्य दिएको थियो । चीन १९.२ ओभरमा ९२ रनमा समेटियो ।
नेपालको यो टी-२० अन्तर्राष्ट्रियमा दोस्रो उच्च योगफल बनाउने क्रममा कुशल भुर्तेलले विष्फोटक शतकीय इनिङ खेल्दा कुशल मल्ल र रोहित पौडेलले अर्धशतकीय इनिङ खेलेका थिए ।
यसअघि नेपालले २७ सेप्टेम्बर २०२३ मा एसियन गेमका दौरान मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो। आज नेपालले चीनविरुद्ध निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३ सय १३ रन बनायो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालको उच्च स्कोरमा ओपनर कुशल भुर्तेलले करिअरकै उत्कृष्ट ब्याटिङ गर्दै विष्फोटक शतक बनाए ।
उनले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गर्दै १ सय २९ रन बनाएका थिए । उनको यो टी-२० अन्तर्राष्ट्रियमा करिअरको सर्वाधिक उत्कृष्ट स्कोर हो।
उनले उच्च स्कोर बनाएसँगै टी-२० अन्तर्राष्ट्रियमा २ हजार रनको कीर्तिमान समेत पूरा गरे । साथै उनले एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीमा आफूलाई सामेल पनि गराए । साथै उनको यो टी-२० अन्तर्राष्ट्रियमा दोस्राे शतक समेत हो ।
भुर्तेल बाहेक कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ८५ रन बनाएर अविजित रहँदा रोहित पौडेलले २१ बलमा ५ चौका र ७ छक्काको सहयोगमा ६९ रनको अविजित इनिङ खेलेका थिए । आसिफ शेख ११ रनमा आउट भएका थिए। दोस्रो विकेटका लागि भुर्तेल र मल्लले १ सय ७५ रनको साझेदारी गरेका थिए ।
३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन ४ बल बाँकी हुँदै अलआउट भयो । चीनका लागि सेनजीयन झेङ्गले ३१ रन बनाउँदा डु जयानहाओले १७ रन बनाए।।
नेपालका लागि कुशल मल्लले ३ विकेट लिँदा सोमपाल कामीले २ र सन्दीप लामिछानेले २ विकेट लिए।



















