
एजेन्सी। इरानसँग सम्बन्धित ह्याकरहरूले बेलायतको एउटा विद्युत् केन्द्र चार दिनसम्म सञ्चालन बन्द गराएको दाबी गरिएको छ। यो बेलायतको महत्वपूर्ण पूर्वाधारमाथि इरानी समूहले गरेको अहिलेसम्मकै गम्भीर साइबर हमलामध्ये एक हुन सक्ने भन्दै बेलायती सञ्चारमाध्यम द टेलिग्राफले समाचार छापेको छ।
साइबर आक्रमणपछि प्रभावित विद्युत् केन्द्र चार दिनसम्म बन्द रहेको थियो। कर्मचारीहरूले प्रणाली पुनः सञ्चालनमा ल्याउन काम गरेका थिए। गएको महिना इरानी ह्याकरहरूले अमेरिकाका जल पूर्वाधारमा शृङ्खलाबद्ध आक्रमण गरेको समयमा यो घटना भएको द टेलिग्राफको बुझाइ छ। यी आक्रमणमा १२ अमेरिकी राज्यका पूर्वाधार प्रभावित बनेका थिए। यी घटनाले ह्वाइट हाउससमेत चिन्तित भएको थियो।
सुरक्षा संवेदनशीलतालाई औँल्याउँदै बेलायती अधिकारीहरूले साइबर हमलामा कुन विद्युत् केन्द्र प्रभावित भएको हो भन्ने खुलाएका छैनन्। यद्यपि, प्रभावित केन्द्र तुलनात्मक रूपमा सानो रहेको र यो बन्द हुँदा बेलायतको समग्र विद्युत् आपूर्ति वा ऊर्जा उत्पादनमा कुनै ठूलो असर नपरेको बताइएको छ।
घटनाबारे बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी)लाई जानकारी गराइएको छ। एनसीएससी बेलायती गुप्तचर संस्था जीसीएचक्यूअन्तर्गतको निकाय हो, जसले देशका महत्वपूर्ण पूर्वाधारलाई साइबर खतराबाट सुरक्षित राख्न सरकारी तथा निजी संस्थालाई सुरक्षा सल्लाह दिँदै आएको छ।
घटनापछि बेलायती सरकारले विद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकारीहरूलाई सुरक्षा अवस्थाबारे जानकारी गराएको थियो। साथै, व्यवसायहरूलाई साइबर सुरक्षासम्बन्धी आवश्यक सावधानी अपनाउन निर्देशनसहितको सूचना पठाइएको बताइएको छ। बेलायतमा यसअघि रुस, चीन, इरान र उत्तर कोरियासँग सम्बन्धित साइबर समूहबाट सरकारी तथा महत्वपूर्ण पूर्वाधारमा विभिन्न किसिमका आक्रमण हुँदै आएको चेतावनी दिइँदै आएको थियो।

























