
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा बोलेको अभिव्यक्तीप्रति नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले चासो राखेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाल भारत सीमा विवादका बारेमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भू–भाग मिचेको बताएका थिए ।
कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीले गम्भीर र आपत्तिजनक विषय उठाएको बताइन् ।
‘भारतको भूमि नेपालले मिचेको भन्नुभयो । कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुपर्यो । होइन भने, दुई देशको सिमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ?’ उनले भनिन्,‘ यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् ।’
नेकपा सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको भनाई गम्भीर रहेको भन्दै संसदमा तथ्य प्रस्तुत गर्न माग गरे । तथ्य प्रस्तुत गर्न नसके सरकार प्रमुखको विवादित अभिव्यक्ती संसदको रेकर्डबाट हटाउन उनले माग गरे । ‘कुनै मुलुकका सरकार प्रमुखले हामीले भूमि मिचेका छौं भन्छन् होला ? यो कति गम्भीर विषय छ,’ उनले भने,‘ प्रधानमन्त्रीको यो अभिव्यक्तीलाई संसदले करेक्सन गर्नुपर्छ, संसदको रेकर्डबाट हटाइनुपर्छ ।’

























