
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन् । खनालले बालेनको अभिव्यक्तिलाई राष्ट्रविरोधी भनेका छन् ।
प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको केही भू–भाग मिचेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका थिए । उक्त अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि जनाउँदै खनालले त्यसलाई अत्यन्त गम्भीर, गलत र देशभक्तिपूर्ण भावनामाथिको प्रहार भएको टिप्पणी गरेका हुन् ।
प्रतिनिधिसभामा बोल्दै आइतबार प्रधानमन्त्री शाहले भारतले मात्रै नभई नेपालले पनि विभिन्न ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले हालै थाहा पाएको बताएका थिए । प्रधानमन्त्रीको यही भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्तमा विवाद चुलिएको छ ।
खनालले नेपाली जनता विगतदेखि नै विदेशी अतिक्रमणविरुद्ध संघर्षरत रहेको उल्लेख गर्दै यस्ता अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान कमजोर बनाउने बताएका छन् । उनले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र दस्तावेजका आधारमा यस्तो संवेदनशील अभिव्यक्ति दिएको हो भन्ने प्रश्नसमेत उठाएका छन् ।
उनका अनुसार प्रधानमन्त्रीको भनाइले देशभित्र र विदेशमा रहेका नेपालीहरूको देशभक्तिपूर्ण भावनामाथि आघात पुगेको छ । राष्ट्रहितविपरीत अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीको पदमा बस्न नसुहाउने भन्दै उनले प्रधानमन्त्री शाहसँग सार्वजनिक माफी माग्न आग्रह गरेका छन् ।
खनालले प्रधानमन्त्रीले माफी नमागेसम्म देशभक्त शक्ति र नागरिकलाई विरोध तथा भर्त्सना जारी राख्न अपिल गरेका छन् । साथै, प्रधानमन्त्रीले संसदमा दिएको उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखसँग माग गरेका छन् ।



















