रास्वपा सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणमा, राजनीतिक भेटवार्ताको तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार १२:५५

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी नेतृत्वको टोली नयाँदिल्ली प्रस्थान गरेको हो । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, उनकी पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमण टोलीमा सहभागी छन् ।

Advertisement

पार्टी प्रवक्ता मनिष झाका अनुसार लामिछानेको भारत भ्रमण जेठ १८ देखि २२ गतेसम्म चल्ने छ । भ्रमणका क्रममा उनले नयाँदिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणको मुख्य उद्देश्य राजनीतिक समन्वय र आपसी सम्बन्ध विस्तारका विषयमा छलफल गर्नु रहेको बताइएको छ । यस क्रममा उनले भारतीय सत्तारुढ दल भाजपा नेतृत्वसँग औपचारिक भेट गर्ने कार्यक्रम रहेको छ ।

साथै, भारतमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने तयारी गरिएको छ । भेटघाटमा प्रवासी नेपालीका सरोकार, समस्या र सम्बन्धित विषयहरूबारे छलफल हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, लामिछानेले भारतस्थित पार्टीका शुभेच्छुक तथा सम्पर्क समूहहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । राजनीतिक भेटवार्तापछि उनको अयोध्या भ्रमणसमेत तय भएको प्रवक्ता झाले बताए ।

भ्रमणका सबै औपचारिक तथा समन्वयात्मक पक्षहरू नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत व्यवस्थापन गरिएको पार्टीले जनाएको छ । यस भ्रमणलाई रास्वपाले अन्तरपार्टी सम्बन्ध र कूटनीतिक सम्पर्क विस्तारको अवसरका रूपमा लिएको देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.