
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संघीय संसद्मा नेपाल–भारत सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको जनाउँदै कडा आपत्ति जनाएको छ ।
एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा शाहको भनाइ तथ्य र ऐतिहासिक प्रमाणविपरीत रहेको दाबी गर्दै त्यसले नेपालको कूटनीतिक अडान र राष्ट्रिय एकतामा असर पार्न सक्ने टिप्पणी गरिएको छ । एमालेले सीमाजस्तो संवेदनशील विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको भनाइ गैरजिम्मेवार र आपत्तिजनक भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा २०७७ सालमा तत्कालीन सरकारद्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरी संविधानको अनुसूचीमा समावेश गरिएको प्रसंग स्मरण गराउँदै त्यसविरुद्ध कुनै पनि प्रश्न उठाउनु कूटनीतिक रूपमा गलत हुने दाबी गरिएको छ । एमालेले नेपाल–भारतबीच सीमा समस्याका बारेमा विभिन्न स्थानमा रहेका सरकारी अभिलेखमा रहेको उल्लेख गर्दै यस्ता विषयको समाधान ऐतिहासिक तथ्य, प्रमाण र कूटनीतिक संवादमार्फत मात्र हुनुपर्ने जनाएको छ ।
साथै, नदीको धार परिवर्तनजस्ता प्राविधिक विषयलाई सीमा अतिक्रमणसँग तुलना गर्नु गलत हुने भनाइ पनि विज्ञप्तिमा समेटिएको छ । एमालेले प्रधानमन्त्री शाहलाई आफ्नो भनाइमा पुनर्विचार गर्दै संसद र जनतासँग माफी माग्नसमेत आग्रह गरेको छ ।





















